29 अगस्त सरोज गुरुङ (सिक्किम)
पश्चिम सिक्किमको सोरेङ महकुमा अन्तर्गत युवा जमातको संगठन दोदक युनाइटेड युथ क्लबले सरकारी माध्यमिक विद्यालय दोदकको खेलमैदान परिसरमा व्यापक सरसफाई गरेको छ। जागरुक युवा जमातहरुको यस क्लबले सामाजिक कार्य सँगसँगै स्वच्छता कार्यक्रमहरुमा खुलेर सहभागिता जनाउँदै आइरहेको छ।

वैश्विक महामारी कोरोना भाइरसको संकटकालमा पनि आफ्ना स्कुल परिसरलाई सरसफाई गरेर सुन्दरता प्रदान गर्न दोदक युनाइटेड युथ क्लबको प्रथमतः र सर्वोच्च प्राथमिकता रहेको जानकारी क्लबले दिएको छ। आजको यस सरसफाई कार्यक्रममा कोविड १९-को निर्देशिकालाई अनुपालन गर्दै क्लबका सदस्यहरुको उत्साहजनक र बाक्लो सहभागिता रहेको थियो।

कार्यक्रममा क्लबका सबै सदस्यहरुले उत्साहजनक उपस्थिति दिएर कार्यक्रमलाई सफल तुल्याएको सम्बन्धित क्लबका अध्यक्ष प्रदिप गुरुङ र महासचिव मनिष छेत्री आभास प्रकट गर्दै भविष्यमा पनि क्लबले सामाजिक कार्यमा निरन्तर हात अघि बढाउनुु पर्ने बताएका छन्।









































