नयाँ दिल्ली, 31 अगस्त
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको 84 वर्षको उमेरमा निधन भएको छ । दिल्लीको एक सैनिक अस्पतालमा उपचारार्थ रहनु भएका मुखर्जीको सोमबार साँझ निधन भएको हो । पूर्व राष्ट्रपति मुखर्जीको निधनको जानकारी उहाँका छोरा अभिजित मुखर्जीले दिनु भएको हो । उहाँलाई 2019 मा भारतको सर्वोच्च सम्मान भारत रत्नले सम्मानित गरिएको थियो । उहाँले 2012 देखि 2017 सम्म भारतको 13 औं राष्ट्रपतिको रुपमा कार्यकाल सम्हानु भएको थियो। उहाँ भारतीय काँग्रेस पार्टीको वरिष्ठ नेता हुनुहुन्थ्यो । उहाँ 1969 मा उहाँ पहिलो पटक राज्यसभाको सदस्य चयन हुनु भएको थियो । 2004 मा उहाँ पहिलो पटक लोकसभामा सांसद चयन हुनुभएको थियो । उहाँ काँग्रेस सरकारका बेला देशको रक्षा, विदेश र वित्तमन्त्री पनि रहनु भएको थियो । पूर्व राष्ट्रपति मुखर्जीको यसै महिना मष्तिष्कमा भएको क्लटको शल्यक्रिया गरिएको थियो । त्यसपछि उहाँ गहिरो कोमामा जानु भएको थियो । त्यसपछि उहाँको अवस्था बिग्रदै गएको थियो । उहाँको फोक्सोमा संक्रमणका कारण निधन भएको जनाइएको छ ।
उहाँको निधनपछि राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति एम वेन्कैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, काँग्रेस अध्यक्ष सोनिया गान्धी, नेता राहुल गान्धी लगायत कयौं नेताहरुले शोक व्यक्त गर्नु भएको छ ।









































