पोखरा,15 सेप्टेम्बर 2020
पर्यटकीय नगरी पोखराको फेवाताल स्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन। सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका यी मूर्तिहरु अहिले संरक्षणको अभावमा छरपस्ट छन भने दिन प्रतिदिन जिर्ण बन्दै गएका छन। ढुंगाबाट मूर्ति बनाउने संसारका प्रसिद्ध मूर्तिकारहरु थेउरी लयरसको टिम र नेपालका मूर्तिकारहरुको संयुक्त पहलमा मूर्ति निर्माण भएको थियो । पार्कमा नाग, साँढे, प्रसव बेथामा रहेकी महिला, पात, मानिस, बुद्ध, बज्र योनी, हिमाल लगायतमा मूर्तिहरु निर्माण गरिएको थियो । त्यस्ता महत्वपूर्ण मूर्ति रहेको कोमागाने पार्क अहिले भने संरक्षणको अभावमा गाईवस्तु चरन क्षेत्रको रुपमा परिणत भएको छ। यो पार्क अहिले स्थानीय तह अन्तर्गत पोखरा महानगरपालिकाको जिम्मामा छ। तर अहिले सम्म महानगरपालिकाले कुनै पार्कको व्यवस्थापन र मूर्तिको संरक्षणमा ध्यान दिएको देखिदैन। महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने पार्कको व्यवस्थापन र कलात्मक मूर्तिहरुको संरक्षणका लागि महानगरपालिकाले छिट्टै काम सुरु गर्ने बताउनुभयो । पार्कमा १४ वटा मूर्ति रहेका छन। जुन मुर्तिहरु सात वर्ष अघि करिब १ करोड लगानीमा नेपाल प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषद्को समन्वयमा १४ जना मूर्तिकारहरुले निर्माण गरेका थिए।









































