काठमाडौं , 18 सेप्टेम्बर 2020
कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताउनुभएको छ। साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडी बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उहाँले बताउनुभयो। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताउनुभयो । विषतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडी बढाउँदा पनि ठेकेदारहरुका लागि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन । सम्झौता गरेपछि एलसी गर्न आएनन । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आए रवितरण गर्नुपर्ने थियो । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’’
मन्त्री भूसालले यो वर्ष विगतभन्दा बढी खेति भएकाले मलको माग पनि बढी भएको बताउनुभयो । कोरोना गर्दा श्रमशक्ति गाउँमा भएपछि खेति पनि बढेको उहाँले बताउनुभयो । विगतमा किसानहरुले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफै ल्याउने गरेपनि यो वर्ष लक डाउनका कारण सम्भव नभएपछि समस्या भएको उहाँको भनाई छ ।
कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्रअनुसार २५/२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।









































