काठमाण्डौ, 22 अक्टोबर 2020
ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। आर्थिक अभावका कारण चिडियाखानामा रहेका बन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बिहीबार महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीबी पोखरेललाई सहयोग बापतको चेक हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले कोभिड संक्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएकोले आर्थिक समस्या परेको अवस्थामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको बताउनुभयो । आगामी दिनमा आवश्यकता अनुसार आर्थिक सहयोग रकम जुटाउन महानगर प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयो ।
सदर चिडियाखानाका आयोजना अधिकृत डा. पोखरेलले कोभिड संक्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताउनुभयो । चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँ भन्दा बढी खर्च हुने गर्छ भने चिडियाखाना भित्र रहेका बन्यजन्तुको खानपिनका लागि करिब ३ देखि ४ करोड रुपैयाँ खर्च हुने पोखरेलले बताउनुभयो । चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ बन्यजन्तु रहेका छन् ।
आर्थिक अभावका कारण चिडियाखानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताउनुभयो । वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्ष देखि चिडियाखना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड-१९ का कारण पूर्ण रुपमा बन्द गर्नुपर्दा आम्दानी शुन्य भएको छ ।









































