काठमाण्डौ, 5 नोभेम्बर 2020
तीन दिने नेपाल भ्रमण रहनु भएका भारतीय थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे सगरमाथाको दृश्य अवलोकन गर्न सोलुखुम्बु जानुहुने भएको छ ।
बुधबार काठमाण्डु आएका नरवाणे शुक्रबार बिहान सोलुखुम्बु जाने कार्यक्रम छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले नरवणे मौसम अनुकूल भएको अवस्थामा सोलुखुम्बु जान सक्ने जानकारी दिनुभयो । उहाँले औपचारिक कार्यक्रम तय नभएकाले जाने/नजाने टुंगो नभएको बताउनुभयो ।
उहाँले सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको होटल एभरेष्ट भ्यूबाट सगरमाथाको दृश्य अवलोकन गर्नु हुनेछ ।
बुधवार नेपाल पुग्नु भएका नरवणेलाई आज राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुहुनेछ । आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नेपाली सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदबी प्रदान गर्नु हुनेछ । मानार्थ महारथीको पदवी ग्रहण गरेपछि नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । आज नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत नरवणेले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम समेत रहेको छ ।









































