दिल्ली, 21 नोवेम्बर 2020
दिल्ली एनसीआरमा रेकर्ड स्तरको चिसो बढिरहेको छ । गत अक्टोबर महिनामा पछिल्लो 58 वर्षको रेकर्ड तोडेको चिसोले नोभेम्बर महिनामा 14 वर्ष पुरानो रेकर्ड तोडेको छ । नोभेम्बर महिनाको 20 दिनमा कयौं विहानीहरु 2010 पछिका अत्यधिक चिसो विहानी रेकर्ड गरिएको छ । शुक्रवार दिल्लीमा अत्यधिक चिसो अनुभव गरिएको थियो । दिनभरिनै चिसो-चिसो सिरेटो चल्दा निकै चिसो महसुस गरिएको थियो । भारतीय मौसम विज्ञान विभागका आनुसार शुकवार दिल्लीको न्यूनतम तापमान सामान्यभन्दा 5 डिग्री कम 7.5 डिग्री सेल्सियस रहेको थियो । यो नोभेम्बर महिनाको 2011 पछिको अहिलेसम्मकै कम न्यूनतम तापमान हो । यसअघि विहीबार न्यूनतम तापमान 9.4 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । यसअर्थले हेर्दा नोभेम्बर महिनामा हरेक दिन चिसोले नयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्ला दिनहरुमा डिसेम्बर महिनामा हुने चिसो दिल्लीवासीहरुले यो वर्ष नोभेम्बर महिनामै अनुभव गरिरहेका छन । मौसम विशेषज्ञका अनुसार छिट्टै कुहिरो पनि लाग्नेछ र दिल्ली एनसीआरमा शीत लहर पनि शुरु हुन सक्छ ।









































