काठमाण्डौ, 23 ऩोवेम्बर 2020
कोभिड-१९का कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ। सोमबार थापाथली स्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले जाडोयाममा लगाउने न्यानो कपडा वितरण गरेको छ । ट्राउजर, थर्मकोट लगायतका न्यानो कपडा वितरण गरिएको हाम्रो टीम नेपालले बताएको छ । न्यानो कपडा पाएपछि खाना खान आउने व्यक्तिहरु खुशी भएका छन् । हरेक व्यक्तिको पीडालाई बुझेर चिसोमा न्यानो कपडा वितरण गरेकोमा उनीहरुले हाम्रो टीम नेपालप्रति खुशी व्यक्त गरेका हुन् ।
हाम्रो टीम नेपालका उमेश बोहराले विभिन्न संघ संस्था, व्यक्तिहरुको सहयोगमा आठ महिना यता खाना खुवाउँदै आएको बताउनुभयो । अहिले भने चिसो बढेका कारण वभिन्न व्यक्तिको सहयोगमा न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।
कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ । यस अघि खुल्ला मञ्चमा खाना खुवाउँदै आएको यो समूहले काठमाडौं महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्था गरिदिएपछि यही मंसिर ३ गते यता थापाथली स्थित प्रसूति गृहको पछाडिको खुल्ला ठाउँमा खाना खुवाउँदै आएको छ ।









































