काठमाण्डौ, 9 डिसेम्बर 2020
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड ११ बजेपछि बालुवाटार पुग्नु भएको थियो।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले दिएको जानकारी अनुसार बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । दुई अध्यक्षबीच करिब डेढ घण्टा भएको छलफल मंसिर २८ गतेका लागि बोलाइएको स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेको बताइएको छ ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा भित्रको विवाद थप चर्किदै आएको छ। ओलीले प्रचण्डको उक्त प्रस्तावलाई ‘आरोप–पत्र’को संज्ञा दिँदै मंसिर १३ गते ३८ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
ओलीले प्रचण्डले कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिनुपर्ने माग गर्नुभएको छ।









































