काठमाण्डौ, 19 डिसेम्बर 2020
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुग्नुभएको हो। प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच करिब ४५ मिनेट छलफल भएको छ । उहाँहरुको यो भेटघाट यस अघि हुने गरेको भेटघाटकै निरन्तरता रहेको कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘यसअघि बालुवाटारमा छलफल हुन्थ्यो। यो अघिपछि भईरहेको छलफलकै निरन्तरता हो । विशेष अरु होईन । पार्टी एकतालाई कसरी बचाउने भन्ने विषयमै अध्यक्षहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरिराख्नुभएको छ । अध्यक्ष प्रचण्डले प्रस्तुत राजनीतिक प्रस्ताव पार्टी कमिटीमा छलफल गरेर निष्कर्षतिर लान पहल, प्रयत्न गरिराख्नुभएको छ । यो निरन्तरताको छलफल हो ।’
नेकपा भित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला छलफलका लागि प्रधानमन्त्री ओली पहिलोपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुग्नुलाई नेकपा भित्र निकै चासो साथ हेरिएको छ । प्रचण्ड -नेपाल समुहले प्रधानमन्त्री र अध्यक्षमध्ये दुई पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिईरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरुलाई आफ्नो पक्षमा पार्न फकाउदै आउनुभएको छ। दुवै पक्षले आ-आफ्नो समुहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । पछिल्लो पटक सम्वैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणपछि नेकपाको विवाद झनै चर्किएको थियो । नेकपाले पौष ५ गते स्थायी कमिटी र पौष १० गते केन्द्रीय कमिटीको बैठक राखेको छ । यसअघि शिर्ष नेताहरु एक अर्कालाई आफ्नो पक्षमा पार्ने दौडमा लागेका छन।









































