काठमाडौं, 23 डिसेम्बर 2020
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयहरु निर्वाचन आयोगमा बुझाएको छ । प्रचण्ड–माधव समूहको मंगलबार बसेको केन्द्रीय कमिटीको निर्णयबाट अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको निर्णय लिएर नेताहरु बुधबार आयोग पुगेका हुन् । नेताहरुले केन्द्रीय कमिटीका बहुमत सदस्यहरुको हस्ताक्षर सहित बैठकका निर्णयहरु आयोगमा बुझाएका छन् । नेकपाका नेता सुरेन्द्र पाण्डे लगायतका नेताहरु निर्वाचन आयोग पुगेर अध्यक्ष ओलीलाई अध्यक्षबाट निष्काशन गरी वरिष्ठ नेता नेपाललाई अध्यक्ष चयन गरेको निर्णय आयोगमा पेश गरेको हो । केन्द्रीय कमिटीका निर्णयहरु आयोगमा पेश गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गदै नेता पाण्डेले २ सय ८७ जनाको बैठकमा उपस्थित भएर निर्णय गरेको हस्ताक्षर र ३ जना उपस्थित हुन नसकेको निवेदन सहित २ सय ९० जनाको हस्ताक्षर सहितको निर्णय आयोगमा बुझाएको बताउनुभयो । उहाँले तत्कालिन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकता पछि कायम भएको ४ सय ४१ केन्द्रीय कमिटी र पछी थप भएका ४ जना सहित ४ सय ४५ जना नै केन्द्रीय सदस्यहरुको अन्तिम नामावली भएको बताउनुभयो । उहाँले ४ सय ४५ मध्ये ३ जनाको मृत्यु भएको, ५ जना विभिन्न संवैधानिक निकायमा नियुक्ती पाएको र ३ जना राजदूत भएर गएपछि कायम भएको ४ सय ३४ केन्द्रीय सदस्य मध्येको बहुमत सदस्यहरुको निर्णय नै अन्तिम हुने बताउनुभयो । उहाँले करिब ७० प्रतिशत केन्द्रीय सदस्यहरु आफूहरुसँग रहेको पनि दावी गर्नुभयो ।
मंगलबार बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निष्काशन गरी वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।
सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजन तर्फ उन्मुख भएको छ । अध्यक्ष ओली समूहले पनि मंगलबार बालुवाटारमा केन्द्रीय सदस्यहरुको भेला गरेर आफ्नो समूह नै आधिकारीक भएको दावी गरेको थियो । अध्यक्ष ओली समूहको केन्द्रीय सदस्यहरुको बैठकले केन्द्रीय कमिटीमा ५ सय ५६ जना सदस्यहरु थप गरेको थियो । उक्त निर्णय ओली पक्षले मंगलबार नै आयोगलाई बुझाइसकेको छ ।









































