काठमाण्डौ,25 मार्च 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताउनु भएको छ। बिहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताउनुभएको हो । विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ । हामी महंगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरीदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्नेकुरा भएन त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाको लागि खपत गर्ने हो । कृषि मन्त्रालयले मल उत्पादन तर्फपनि किसानहरुलाई तालिम दिन जरुरी छ ।’
पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडी बढाउन सफल भएको जिकिर पनि गर्नुभयो । हरेक दिन नयाँ उपलब्धी हासिल गर्दै नयाँ उचाइ लिएर अगाडी बढिरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।









































