काठमाण्डौ, 18 अप्रिल 2021
प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सरोकारवालासहित बसेको समितिको आइतबारको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी तथा खर्चको विवरण समिति समक्ष लिखित रुपमा पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक सुरक्षा कोषलाई निर्देशन दिएको हो । साथसाथै सरकारी, गैरसरकारी तथा विभिन्न संघसंस्था र कलकारखानाबाट सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुको संख्यापनि बुझाउन निर्देशन दिएको छ । समिति सभापति बिमल प्रसाद श्रीवास्तवले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालयले अरु कुन कुन मन्त्रालयसँग कस्तो प्रकारको सहयोगको अपेक्षा राखेको छ सो सम्बन्धी पनि लिखित रुपमा पेश गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो ‘यो कोषको आम्दानी जतिपनि भएको छ । एक्युरेट कति आम्दानी भएको हो ? कुन कुन बैंकमा के कति ब्याजमा राखेका छन् ? कुन शिर्षकमा अहिलेसम्म के कति रकम खर्च भएको हो ? इत्यादी यसको डिटेल्स डाटा लिखित रुपमा यो समितिमा उपलब्ध गराईदिनु होला । साथसाथै यो कोषमा अहिलेसम्म सरकारी, गैरसरकारी, विभिन्न संघसंस्था, कलकारखाना इत्यादीबाट केकति संख्यामा सदस्यहरु भए एक्युरेट डाटासहित यो समितिलाई उपलब्ध गराईदिने । कुन कुन मन्त्रालयसँग के कस्तो किसिमको सहयोगको वातावरण बनाउने हो, लिखित सुझाव पठाउनु ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले श्रमिकहरु सरकारले अपेक्षा गरे अनुसार सामाजिक सुरक्षा कोषको दायरामा नआएको बताउनुभयो । औपचारिक क्षेत्रका श्रमिकहरुको पनि सहभागिता सोचे अनुसार नभएको भन्दै उहाँले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन चुनौतिपूर्ण भएको टिप्पणी गर्नुभयो । रोजगारदाताहरुले २० प्रतिशत योगदान गर्न तयार नभएका कारण समस्या भएको पनि बताउनुभयो ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । योजनाको स्किमको दायरा बढाएर आकर्षित गर्न सकिने उहाँले बताउनुभयो । ठूला उद्योगहरुका श्रमिक यस योजनाको दायरामा आउन चाहेपनि रोजगारदाताले चासो नदेखाएको पनि बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीले कम्पनीहरुले ठेकेदारहरुसँग कामदार लिएर काम गराउने गरेका कारण सामाजिक सुरक्षाको दायरामा ल्याउन नसकिएको भन्दै सरकारले कडा निगरानी गर्नुपर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालकी सांसद अमृता देवी अग्रहरीले अझैपनि श्रमिकहरुलाई सरकारको सामाजिक सुरक्षा योजनाको बारेमा थाहा नभएको भन्दै राज्यले श्रमिकहरुलाई यसबारे बुझाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रमोद साहले सामाजिक सुरक्षा कोषलाई सरकारले प्रभावकारी बनाउन नसकेको बताउनुभयो । सामाजिक सुरक्षा कोषको दायरामा नआउने कम्पनीहरुलाई कारबाही गरिनुपर्ने उहाँको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले) कि सांसद सरिता कुमारी गिरीले सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन बल गर्नुपर्ने बताउनुभयो ।
सामाजिक सुरक्षा कोष अन्र्तगत विभिन्न शिर्षकमा ऋणको व्यवस्था गरे यसप्रति आकर्षण बढ्ने सांसदहरुको भनाई छ । प्रभावकारी नीति, नियम र ऐन, कानुनको आवश्यकता रहेको पनि सांसदहरुले बताए ।









































