रुपन्देही संवाददाता, 6 मई 2021
भारतबाट घर फर्किरहेका प्रवासी नेपालीहरुको व्यवस्थापन फितलो हुनुका साथै प्रहरी प्रशासनकै मिलेमतोमा नेपालीहरुलाई लुट्ने काम भइरहेको छ । भारतबाट नेपाल फर्किरहेका नेपालीहरुको व्यवस्थापनका लागि अहिले नाका नजिक होल्डिङ सेन्टरहरु बनाइएका छन । कोरोना महामारी रोकथामका लागि भन्दै सरकारले होल्डिङ सेन्टरहरु बनाएको भएपनि सुनौली-बेलहिया नाकामा अहिले होल्डिङ सेन्टर कोरोना रोकथाम गर्ने थलो कम र कोरोना फैलाउने थलो बढि बनेको छ । दिल्लीमा सीए अध्ययनरत रुपन्देही भलवारीका सागर भुषाल होल्डिङ सेन्टरमा खटिएका पुलिस र प्रशासनको प्रत्यक्षर्शी हुन । उनले भने भारतबाट कुनै पनि हालतमा कोरोना भित्रिन नदिन नेपाल सरकारले जारी गरेको मापदण्डको पुरै पालना गर्न मैले पुलिस प्रशासनलाई सहयोग गरिरहेको थिए । उनका अनुसार होल्डिङ सेन्टरमा भारतबाट आएका प्रवासी नेपालीहरुलाई राख्ने, भौतिक दूरीको पालना गराउने, रेपिड टेस्ट गराउन लगाउने र त्यहाँबाट उनिहरुको घर सम्म जानका लागि गाडीको व्यवस्थापन गरिदिने काम प्रहरीले गरिरहेको छ । तर अफसोस प्रहरीले यी सबै कामको व्यवस्थापनमा लापरवाही गरिरहेको छ । प्रहरीको ध्यान कोरोना रोकथाम भन्दा पनि यातायात व्यवसायीसँगको कमिसनमा बढि छ ।
दिल्लीबाट गएपछि आइतवार विहान 10 बजेतिर सुनौली नाका पार गरि होल्डिङ सेन्टर पुगेका सागर भुषाललाई प्रक्रिया पुरा गर्न त्यती समय नलागे पनि प्रहरीले भनेको गाडीमा सवार हुन नमान्दा घण्टौसम्म कुर्नु पर्यो । उनले बताए अनुसार भारतबाट आएकाहरुलाई सबैभन्दा पहिला होल्डिङ सेन्टरमा कुर्न लगाइयो । प्रहरीले भारतबाट आएकाहरुलाई भौतिक दूरी कायम गर्न बारम्बार माइकिङ गरिरहेको थियो । तर त्यहा कसैले भौतिक दूरी कायम गरिरहेका थिएनन । त्यहाबाट पालै पालो मानिसहरुलाई रेपिड टेस्टका लागि पठाइदै थियो । तर आधाभन्दा धेरै मान्छेहरु बिना टेस्टको त्यही बाट घर तर्फ भागिरहेको देखियो । त्यसपछि कोभिड परिक्षण स्थलमा पनि स्वास्थ्यकर्मीहरुले प्रत्येक 5 जनामा बढिमा 2 जनाको टेस्ट गरेको पाइयो । त्यसपछि नेगेटिभ आएकाहरुलाई घर जान दिइयो भने पोजेटिभ आएकाहरुलाई क्वारिन्टीनको व्यवस्था गरिएको पाइयो ।
टेस्ट भइसकेपछि घर जान अनुमति पाएकाहरुलाई प्रहरीले भनेको गाडीमा मात्र जान पाइने व्यवस्था गरिएको थियो । तर ती गाडी वालाले मनमर्जीको भाडा लिइरहेका थिए । उनले भने मैले बोर्डर नजिकै मेरो भर भलवारी जानका लागि सामान्य दिनमा 40 देखि 50 रुपैया लाग्थ्यो तर प्रहरीले मिलाइदिएको गाडीमा 15 सय रुपैयाँ भाडा भनियो । आफुले त्यसको विरोध गरेको र प्रहरीलाई गाडीवाला विरुद्ध उजुरी गर्दा प्रहरीले नै उल्टै यति लाग्छ भाई भन्दै जान कर गरेको बताए । प्रहरीले भनेको गाडीमा जान नमान्दा आफुलाई साँझ 4 बजेसम्म रोकिएको र त्यसपछि आफुले घरबाटै मोटरसाइकल बोलाएर जान खोज्दा पनि जान नदिएको उनले सुनाए । अन्त्यमा भने प्रहरी लचक भएर जान दिएको उनले सुनाए ।
आफुलाई जम्मा 30 किलोमिटर जान त 15 सय रुपैया भनियो भने टाढा-टाढाका यात्रुहरुबाट झन धेरै असुली भइरहेको उनले बताए । उनले भने बरु समान्य दिन प्रहरीले जिम्मेवारीपूर्वक कर्तव्य पालन गरिरहेको थियो तर अहिले प्रहरी प्रशासनले नै कोरोना महामारी भित्रिन नदिन र अवैध लुटपाटलाई रोक्न काम गर्नुपर्ने ठाँउमा प्रहरीको रवैया निन्दनीय छ। यसमा सम्बन्धित निकायको ध्यान जानुपर्ने उनको भनाइ छ ।









































