काठमाण्डौ, 20 जुलाई 2021
मुम्बई प्रहरीले बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रालाई पक्राउ गरेको छ । पोर्न फिल्म बनाएको तथा त्यसलाई अनलाइनमार्फत प्रसारण गरेको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोबाइल एपमार्फत फिल्म प्रसारण गरेको आरोपमा कुन्द्रालाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ । ‘यसबारेमा हामीसँग पर्याप्त प्रमाण छन्, थप अनुसन्धान गरिरहेका छौं,’ मुम्बई प्रहरीले प्रेस रिलिजमा भनेको छ । ब्रिटिस रियालिटी सो ‘सेलेब्रिटी बिग ब्रदर’ को २००७ का विजेतासमेत रहेकी शिल्पाका श्रीमान् कुन्द्रा यसअघि पनि पटक–पटक विवादमा मुछिएका छन् । सन् २००५ मा कुन्द्रालाई क्रिकेटमा म्याच फिक्सिङको आरोप लागेपछि क्रिकेटसम्बन्धी सबै प्रकारका गतिविधिमा आजीवन प्रतिबन्ध लगाइएको थियो । त्यतिबेला उनले शिल्पासँग मिलेर राजस्थान रोयल्सको व्यवस्थापन गरेका थिए । भारतमा पोर्नोग्राफी उत्पादन र प्रसारण गैरकानुनी मानिन्छ । तर व्यक्तिगत रुपमा पोर्नोग्राफी हेर्नुलाई भने गैरकानुनी मानिदैन । अमेरिका र बेलायतपछि भारतबाट सबैभन्दा धेरै पोर्न फिल्मका दर्शक रहेको बताइएको छ ।









































