काठमाडौं, 13 अगस्त 2021
नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ । शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागर कुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी बोल्कले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । नेपाल सरकारको जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो संस्थाबीच सम्झौता भएको सचिव राईले बताउनुभयो । उहाँले यसमा अन्य जेभीएस र पीआई संस्था पनि रहेको बताउनुभयो । सचिव राईले ४ वर्षको दौरानपछि कमला नदीको पानीलाई कसरी व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसावमा, चुरे दोहन रोक्ने लगायतका हिसावमा कमला नदी स्टेट अफ दी बेसिन प्लान तयार भएको बताउनुभयो । उहाँले यो समझदारी पत्रले चुरे क्षेत्रको संरक्षणमा कसरी काम गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल सरकारको जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो भन्ने संस्थासँग मिलेर हामीले सम्पन्न गरेका हौँ, र यसमा अरुपनि जेभीएस र पीआई भन्ने संस्था पनि रहेको छ, यो ४ वर्षको दौरान पछाडि के कसरी कमला नदीको पानीलाई व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसावले, बाढी पहिरो रोक्ने, चुरे संरक्षण गर्ने सबै कुराहरुले गर्दा कमला रिभर बेसिन स्टाटेजी प्लान तयार भएको छ, यो अत्यन्त महत्वपूर्ण छ, यसले चुरे क्षेत्रको संरक्षणमा कसरी काम गर्ने, कमला रिभर बेसिनमा पानीलाई कसरी धेरै भन्दा धेरै रिचार्ज हुने, पानी सञ्चित हुने र पानीको मात्रा बढाउने विषयमा दिशा निर्देश गर्छ, त्यहाँ भएका जमीनमा धेरै सिंचाई कसरी हुन्छ र त्यहाँ भएका स्थानीय जनताहरुको आयस्रोत बढाउने भन्ने विषयमा काम गर्दछ ।”
जल तथा उर्जा आयोग सचिवालयका सचिव मणिराम गेलालले अष्ट्रेलियाले नेपाललाई लगातार सहयोग गरिरहेको बताउनुभयो । उहाँले अष्ट्रेलियाले जल तथा उर्जा क्षेत्र र कमला नदी बेसिनको क्षेत्रमा ५ वर्ष यता निरन्तर सहयोग गरिरहेको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “अष्ट्रेलिया सरकारले निरन्तर नेपाल सरकारलाई सहयोग गरिरहेको छ, त्यसमाथि पनि अष्ट्रेलिया सरकारले ५ वर्ष कमला नदीको स्टेट अफ दी बेसिनमा सहयोग गर्नेछ ।”
त्यसैगरी नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी बोल्कले यो सम्झौता जल तथा उर्जा क्षेत्रको लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जल तथा उर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीचको यो सम्झौता अविष्मरणीय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो अष्ट्रेलिया र नेपाल सरकारका लागि एकदमै महत्वपूर्ण छ, कमला कमला नदी बेसिनले कृषिको क्षेत्र, त्यहाँका बासिन्दाको आर्थिक स्तरोन्नती र चुरेको क्षेत्रमा व्यवस्थापन गर्नेछ ।”
उहाँले यस समझदारीले स्थानीय आर्थिक समृद्धि तथा जीविकोपार्जनको सुरक्षाका लागि व्यवसायिक तथा वैज्ञानिक कृषिमा जोड दिने उल्लेख गर्नुभयो ।









































