काठमाण्डौ, 18 अगस्त 2021
अफगानिस्तानको जलालबाद शहरमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि विद्रोही समूह तालिबानले गोली चलाएको छ । बुधबार जलालबादमा कार्यालयहरूमा तालिबानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्रदर्शन भएको थियो । प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानका लडाकूले गोली चलाएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । तालिबानका लडाकूले आन्दोलनको समाचार संकलन गरिरहेका पत्रकारलाई पनि कुटपिट गरेका छन् । यसअघि मंगलबार अफगानिस्तानका महिलाहरूले आफूहरूको अधिकार रक्षाको माग गर्दै आन्दोलन गरेका थिए । महिलाहरूले आफ्नो अधिकार, सामाजिक सुरक्षा, काम गर्ने, शिक्षा तथा राजनीतिक सहभागिताको अधिकार माग गर्दै आन्दोलन गरेका हुन् ।









































