काठमाडौं, 2 सितम्बर 2021
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रीपरिषद विस्तार हुने सम्भावना नरहेको बताउनु भएको छ । अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएपनि त्यसबारे छलफल नभएको पनि बताउनु भयो । बिहीबार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गर्नु भएको थियो । सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२÷२३ गतेसम्म त मन्त्रीपरिषद विस्तारका बारेमा कसैले चुईक्क पनि नबोल्ने बताउनु भयो । सत्तारुढ दल भित्रको विवादका कारण मन्त्रीपरिषदले पूर्णता पाउन नसकेको चर्चा भईरहँदा अध्यक्ष नेताले मन्त्रीपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया समेत दिनु भयो ।
उहाँले भन्नु भयो, ‘मन्त्रीपरिषद विस्तारका विषयमा २२÷२३ गतेसम्म त कसैले पनि चुईक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’
अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई आह्वान गर्नु भयो । केपी ओली र उहाँका मान्छेहरुले दश बूँदे सहमतीको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उहाँले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो ।अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहोर्याउनु भयो । उहाँले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन हुने भ्रम नछर्न पनि सचेत गराउनु भयो ।
नेता नेपालले भन्नु भयो, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गर्नु भयो । यसैबीच, नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीबार नै सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएको छ ।









































