काठमाण्डौ, 3 सितम्बर 2021
भारतले नेपालका १४ साँस्कृतिक सम्पदा परियोजना र १ सय ३ वटा स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि सहयोग गर्ने भएको छ। भारत सरकारको ४ सय २० करोड रुपैयाँ अनुदान सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १ सय ३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। नेपालको ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १ सय ३ वटा स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंसल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।









































