काठमाडौं, 15 सितम्बर 2021
सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताउनु भएको छ । अध्यक्ष दाहालले पार्टीले हालसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउनेतर्फ चिन्तनमनन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो । नेता पोष्टबहादुर बोगटीको स्मृतिमा बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले बिकृत बुर्जुवा प्रणाली बदल्नका निम्ति पनि संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने तर्क समेत गर्नु भयो । अध्यक्ष दाहालले संविधान संशोधनका लागि सकेसम्म राजनीतिक दलहरुसँगबीचको संवाद, सहमती र समझदारीनै जोड दिने पनि स्पष्ट पार्नु भयो । निर्वाचन प्रणाली, शासकीय स्वरुप र संघीयताका विषयमा संशोधन गरेर जाने बाटो संविधानले खुला गरेकाले आफूहरुले संविधान जारी गरेदेखि नै संविधान संशोधनको विषयलाई बढि जोड दिएर उठान गर्ने गरेको पनि स्मरण गराउनु भयो । अध्यक्ष दाहालले आफू २ पटक प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि संसदमा प्रस्तावनै लगेको पनि बताउनु भयो । तर प्रतिगामी र दक्षिणपन्थी शक्तिहरुको सो प्रस्ताव संसदमा छलफल गर्न समेत नदिएको अध्यक्ष दाहालको गुनासो छ ।
उहाँले भन्नु भयो, ‘जरुरी पर्यो भने हामी सडकमा जानुपर्ने हुन पनि सक्छ । यो विकृत बुर्जुवा प्रणालीलाई बदल्नका निम्ति हामी सडकमा जानुपर्ने हुन सक्छ । तर पनि हाम्रो कोसिस सकेसम्म राजनीतिक दलहरुबीच संवाद, सहमति र समझदारीबाटै संविधान संशोधन गर्दै जानेमै हाम्रो जोड छ । जरुरी पर्यो भने हामी फेरी एकचोटी किनभने हामीले जति पनि सफलता प्राप्त गरेका छौं–सडकबाटै प्राप्त गरेका छौं । हिजो युद्ध भनेको पनि सडक संघर्ष नै हो । अहिले प्रतिगामी विरोधी आन्दोलन पनि सडकबाटै प्राप्त गरेको सफलता हो भने भोली संविधान संशोधनका लागि पनि जरुरी पर्यो भने हामी सडकमा जान्छौं । यो कुरा सबै कमरेडहरुलाई विचार गरी राख्न, चिन्तन गरि राख्न अपिल गर्दछु ।’
अध्यक्ष दाहालले सडक आन्दोलनकै बलमा आफ्नो पार्टीको नेतृत्वमा प्रतिगमनबाट मुलुकलाई जोगाउने र संविधानको रक्षा गर्ने सफलता हात पारेको पनि बताउनु भयो । उहाँले जनताको बलमा प्रतिगमन विरोधी कदमलाई पराजित गर्न सफल भएपनि हाल आएर पार्टी भित्र आफ्नो व्यक्तिगत स्वार्थ, पदका लागि मरिहत्ते गर्नेहरुको जमात बढदै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो । पार्टी बनाउनेभन्दा गुट बनाउने धन्दा पनि पार्टी भिनै देखिने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यस्ता प्रवृतिको विरुद्ध जुधेर मात्रै नेता पोष्टबहादुर बोगटीहरुले देश र जनताको मुक्तिको निम्ति देखेका सपनालाई पूरा गर्न सकिने पनि बताउनु भयो । अध्यक्ष दाहालले नेपाल राष्ट्र र नेपाली जनताको रुपान्तरणमा नेता बोगटीले खेलेको भूमिका सदा स्मरणीय रहिरहने पनि बताउनु भयो ।









































