काठमाडौं, 23 सितम्बर 2021
रुपन्देहीकी राधा ज्ञवाली आफ्नी छोरीसँगै उभिएर गत शनिबार मध्यान्ह त्रिभुवन विमानस्थलको प्रस्थान कक्षसँगैको फलामे गेट (अतिरिक्ति)तर्फ एकटक हेरिरहेकी थिइन् । केही घण्टाको सकसपूर्ण प्रतिक्षापछि उनको हातमा प्रहरीले पत्रिकाले बेरिएको एउटा लाम्चो आकारको सानो बाकस थमाइ दिए, जसमा राधाका श्रीमान गणेशको अस्तुसँगै जलेका सपनाको खरानी पनि थियो। फोन गरेका गणेशले ‘कोरोना लागेर निको भइसकेँ, दशैंमा घर आउँछु’ भनेर मलेसियाकै अस्पतालमा प्राण त्याग्नुपर्यो । कोरोनाबाट मृत्यु भएकाले शव ल्याउन नमिलेपछि उतै जलाउन सहमति दिन राधालाई कर लाग्यो । शनिबार विदेशबाट ६ शव र १५ वटा अस्तु आइपुगेका थिए। जीवन सुधार्ने सपना लिएर विदेश उडेका युवामध्ये कोही बाकसमा सिंगै त कोहीको अस्तु मात्र फर्किरहँदा सरकार भने यो अवस्थाप्रति संवेदनशील बनिरहेको छैन ।









































