2 अक्टूबर 2021
भारतबाट अपहरण गरी नेपाल पुर्याईएका एक जना भारतीय नागरिकको नेपाल प्रहरीले सप्तरीमा उद्धार गरेको छ । अपहरित भारतीय नागरिकको सप्तरीको बलान बिहुल गाउँपालिकाबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। अपहरणमा परेका भारतको बिहार राज्यको मधुबनी लौकाहा ग्राम पन्चायत वडा नम्बर ९ बस्ने २२ बर्षिय शंकरकुमार साहको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो। बलान बिहुल गाउँपालिका वडा नम्बर ५ रामनगरस्थित नेपाल भारत सीमानजिक झाडीमा खुट्टामा साङ्लोले बाँधेर राखिएको अवस्थामा साहको उद्धार गरिएको बताईएको छ। साहको अज्ञात समूहले अपहरण गरी नेपालको दशगजातर्फ लगेको सूचना भारतीय प्रहरीले दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपहरितको खोजीकार्य गरेको थियो । अपहरित साहलाई उद्धार गरिएपनि अपहरणकारी फेला नपरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी दिएको छ।









































