काठमाडौं, 5 अक्तूबर 2021
गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी नेतृत्वको लागि डा. बद्री केसीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान भन्ने नारासहित केसीले आगामी नेतृत्पका लागि उम्मेद्वारीको घोषणा गर्नुभएको हो । उम्मेद्वारी घोषणा गर्दै केसीले वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने बताउनुभयो । त्यस्तै उहाले गैरआवासीयलाई नागरिकता दिलाउने, गैरआवसीय नेपालीको लगानी नेपाल भित्राउने लगायतका प्रतिवद्धता जनाउनुभयो । आफु अध्यक्षमा निर्वाचित भए श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने, एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने, एनआरएनए र नेपाल सरकारबीच थप प्रगाढ सम्बन्ध स्थापित गर्ने लगाएतका काम गर्ने उहाले बताउनुभयो । बर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहनुभएका केसीले यसअघि आफुले अघि सारेका कामलाई पूरा गर्नका लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको धारणा राख्नुभयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि कुल आचार्य र रबीना थापाले पनि यसअघि नै उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ ।









































