21 अक्तूबर 2021
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल “ट्रूथ सोशल” सार्वजनिक गर्ने योजना घोषणा गर्नु भएको छ। ट्रम्पले सो सामाजिक सञ्जाल “ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने” बताउँदै ट्रम्पले अमेरिकाका “विद्रोही आवाज”लाई स्थान नदिएको बताउनु भएको छ। उनले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने बताएको छ। ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनाका कारण पछि उनलाई ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालहरूबाट निलम्बित गरिएको थियो। उनी र उनका सल्लाहकारहरूले वैकल्पिक सामाजिक सञ्जाल सुरु गर्ने सङ्केत गरिरहेका छन्। ट्रम्पले यो वर्षको सुरुमा फ्रम द डेस्क अफ डोनल्ड जे ट्रम्प नामको साइट सुरु गरेका थिए जसलाई उनको ब्लग भन्ने गरिएको थियो। तर साइट एक महिनापछि बन्द गरियो। उनका तात्कालिक प्रमुख सहायक जेसन मिलरले त्यसलाई “उनीहरूले काम गरिरहेको ठूलो प्रयासको एउटा सहयोगी अंश” मात्रै भएको बताएका थिए। टीएमटीजीका अनुसार ट्रूथ सोशलको आगामी महिना केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ अनि त्यसपछि सन् २०२२ को पहिलो तीन महिनामा अमेरिकामा उपलब्ध हुनेछ।
ट्रम्पले लेखनु भयो , “हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ तालिबानको ट्विटरमा ठूलो उपस्थिति छ तर तपाईँको मन पर्ने अमेरिकी राष्ट्रपतिलाई चुप लगाइएको छ।” ट्रम्पको घोषणा उनको पूर्वसहयोगी जेसन मिलरले गेटर नामक अर्को सामाजिक सञ्जाल कम्पनी सुरु गरेको महिनापछि आएको हो।









































