27 अक्तूबर 2021
विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट नेपाली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले पाएका छन् । दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् ।

सन् २०१८ मा दीपा र लक्ष्मी ले सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा खेल्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए । महिला सशक्तीकरणका लागि इक्वेल प्लेइङ्ग फिल्डले विश्वकै अग्लो स्थान र होचो दुवै स्थानमा फुटबल आयोजना गरिएको थियो । प्रतियोगिता जोर्डनमा समुन्द्री सतहभन्दा ३२० मिटर तलको स्थानमा आयोजना भएको थियो भने नेपालसहित अफगानिस्तान, फ्रान्स, स्पेनलगायत २० राष्ट्रका महिला खेलाडीहरू सम्मिलित थिए । अग्लो स्थानको यो खेल अफ्रिकन राष्ट्र तान्जानियाको माउण्ड किलिमन्जारोमा खेलिएको थियो । तर स्वास्थ्य समस्याका कारण दीपा किलिमान्जोरोमा खेल्न सकिनन् । दीपाले सर्टिफिकेट प्राप्त गरेपछि सबैलाई धन्यवाद दिएइन ।









































