काठमाडौ, 6 नवम्बर 2021
राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइ दिनुभएको छ। टिकाको शुभसाइतमा भण्डारीले भाइ पाण्डेलाई सप्तरंगी टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीको माला लगाइ कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । उहाँले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार पनि दिनुभयो। त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गर्नुभएको थियो । त्यसैगरी राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाइ दुबो, मखमली, सयपत्री र गोदावरी फूलको माला लगाइदिनुभयो ।









































