9 नवम्बर 2021
भारतको प्रतिष्ठित पुरस्कार पद्मश्रीबाट साहित्यकार लीलबहादुर क्षेत्री सम्मानित हुनु भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गर्नुभएको हो । सोमबार दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहका बीच कोविन्दले साहित्यकार क्षेत्रीलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । साहित्य र शिक्षा क्षेत्रमा उहाँले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको राष्ट्रपति कार्यालयले ट्वीटरमार्फत जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले क्षेत्रीलाई नेपाली साहित्यको प्रसिद्ध लेखकको रुपमा चित्रित गर्दै उहाँ विभिन्न सामाजिक, शैक्षिक र सांस्कृति संघसंस्थामा सक्रिय रहेको उल्लेख गरेको छ । पुरस्कार ग्रहण गर्न क्षेत्री भादगाउँले टोपीमा राष्ट्रपति कार्यालय पुग्नुभएको थियो । क्षेत्रीको बसाइँ नामक उपन्यास निकै चर्चित छ । सो उपन्यास नेपालको विश्वविद्यालय तहमा पनि पढाइ हुने गरेको छ । यद्यपि क्षेत्री नेपाली नागरिक भने होइनन् । उहाँको जन्म विसं 1989 मा भारतको गुवाहटीमा भएको थियो । बसाइँ उपन्यास बाहेक उनका ब्रहमपुत्रको छेउ छाउ, अतृप्त, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्ति लगायतका कृति प्रकाशित छन् ।









































