काठमाडौं, 9 नवम्बर 2021
दक्षिण कोरियाको लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ सोजु नेपालमै उत्पादन हुने भएको छ। गत आइतबार बाँकेको कोहलपुरमा रहेको श्री न्यु एभरेष्ट डिष्टिलरीले सोजु उत्पादन गर्ने सम्झौता भएको छ। व्यवसायी रविन्द्रमान श्रेष्ठ, व्यवसायी तथा गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्वअध्यक्ष विनोद कुँवर र श्री लिम क्योङ्गटेक वरिष्ठ केमिष्ट दक्षिण कोरियाको संयुक्त पहलमा नेपालमा सोजु उत्पादन र बिक्री वितरण हुन लागेको हो। श्री न्यु एभरेष्ट डिष्टिलरी उद्योग प्रालि, विजे इन्भेष्टमेन्ट र पिप्लस दक्षिण कोरियाबीच सोजु उत्पादन गरी नेपाल अधिराज्यभर बिक्री-वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सोजु दक्षिण कोरियाको सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ हो। पछिल्लो समय नेपालमा पनि यसको माग बढ्दो छ। अहिले सोजु नेपालमा पनि आयात गरी बिक्री वितरण गरिएको छ। निकट भविष्यमै हामीले सोजु नेपालमा उत्पादनगरी वजारीकरण गर्दा आयात न्युनीकरण हुने, देशको पैसा देशमै रहने, मुल्य सर्वसाधारण उपभोक्ताको पहुँच भित्र हुने र गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुने न्यु एभरेष्ट डिष्टीलरीले बताएको छ।









































