9 नवम्बर 2021
पाकिस्तानी सामुद्रिक सुरक्षा निकायको जहाजले भारतीय माझीको डुंगामा गोली चलाउँदा एक भारतीय माझीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महाराष्ट्र पालाघर जिल्लाका ३२ वर्षीय श्रीधर चमार रहेका छन् भने घाइते माझीको भने गुजरातको ओखास्थित अस्पतालमा उपचार भइरहेको छ । गोलाबारी बिना कारण भएको घटनालाई भारतले गम्भीरताका साथ लिएको छ । यो घटना गुजरात तटको अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा नजिक भएको भारतीय तटरक्षक र गुजरात प्रहरीले छुट्टाछुट्टै विज्ञप्तिमा जनाएका छन् । भारतीय सरकारी स्रोतका अनुसार , ‘हामी यो मुद्दा पाकिस्तान पक्षसँग कूटनीतिक रूपमा उठाउने छौं । यस विषयमा अनुसन्धान भइरहेको छ । थप विवरण समयमै आदान प्रदान गरिने छ ।’









































