9 नवम्बर 2021
बैंकिङ कसुर मुद्दामा नेपाल प्रहरीले फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले नौ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका भारत मोतीहारीका ४५ वर्षीय राजहरण साहलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका साहले ग्लोबल आइएमई बैंक लिमिटेडको ज्ञानेश्वरको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए उच्च अदालत पाटनको विक्रम संवत ०७७ माघ २६ को फैसलाअनुसार सात दिन कैद र बिगो बमोजिम नौ लाख ५० हजार जरिवाना ठहर गरेपछि फरार रहेका साहलाई काठमाडौंको कमलपोखरीबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । साहलाई उच्च अदालतले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । साहलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेस गरिएको छ ।









































