10 नवम्बर 2021
रूकुम पूर्वका एक युवकलाई बलात्कार आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथविरूद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेको थियो। नाथ पत्रकार हुन्। जिल्ला प्रहरी कार्यालय अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा बलात्कार गरेको जाहेरीपछि नाथलाई पक्राउ गरिएको हो। ती किशोरीलाई नाथले गत सोमबार जंगलमा लगेर बलात्कार गरेको आरोप छ। उनीमाथि मंगलबार किटानी जाहेरी परेको थियो। उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीले बताएको छ। किशोरीको स्वास्थ्य परीक्षण गरिए पनि रिपोर्ट आइसकेको छैन। नाथविरूद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।









































