11 नवम्बर 2021
छठ पर्वअन्तर्गत बुधबार पूर्वयुवराज्ञी हिमानी शाहले परम्परानुसार वीरगञ्जमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेकी छिन् । बुधबार साँझ छठ पूजाको सामग्रीसहित घडिअर्वा पोखरीमा सजाइएको घाटमा गई पूजा गरेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिइन् । पूर्वयुवराज्ञी हिमानी छठ पूजाको अवसर पारेर वीरगञ्जको घडिअर्वा पोखरी आएकी हुन् । उक्त क्रममा हेलिकप्टरबाट पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानीको फोटो अंकित प्रचार सामग्री (स्टिकर) खसालिएको थियो । पूर्वयुवराज्ञी हिमानी आएपछि राजावादीले स्वागत गर्दै ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा प्राणभन्दा प्यारो छ’ जस्ता नारासमेत लगाएका थिए । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पूजा विधिवत् रूपमा सम्पन्न भएको छ ।









































