काठमाडौं, 29 दिसम्बर 2021
काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन् । सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीमाथि गत सोमबार र मंगलबार पटक पटक सामूहिक बलात्कार भएको खुलासा भएको हो । पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए । उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए । उक्त रात दुईजनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीस पक्राउ परेको तथा मुगुका हस्त नेपाली र चन्द्र साउद फरार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपीले जनाएका छन् । काम खोज्न सुर्खेतबाट पीडित युवती काठमाडौँ आएकी हुन् । उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागी उनी काठमाडौँ आएकी थिइन् । पिडा सहन नसकेर चिच्याउँदै उनी प्रहरीकहाँ पुगेपछि घटना बाहिरिएको थियो ।









































