बंगलादेश, 10 जनवरी 2022
बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छिन् । पुष्पा दक्षिण एसियाली क्याटेगोरीतर्फ तेस्रो भएकी हुन् भने यसअघि गत वर्ष पुष्पाले यही क्याटेगोरीमा स्वर्ण जितेकी थिइन् । उनले गत वर्ष निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी थिइन् । तर यस पटक भारतीय खेलाडीहरुसँग पछि पर्दै पुष्पा तेस्रो भइन् । पुष्पाले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गरिन् । पुष्पाले टाइमिङ सुधार गरे पनि स्वर्ण रक्षा गर्न सकिनन् । भारतकी आरती दत्तात्रय पाटिलले २ घण्टा ५३ मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितिन् भने भारतकै ज्योती गवाटेले २ घण्टा ५४ मिनेट १५ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितिन् । दक्षिण एसियाली कोटामा नेपालका दुई पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुले कुनै पदक जित्न सकेनन् । नेपालका किरण सिंह बोगटी २ घण्टा २३ मिनेट ४३ सेकेण्डमा दौड पूरा गर्दै पाँचौं स्थानमा रहेका छन्।









































