काठमाडौं, 7 फरवरी 2022
काठमाण्डौ महानगरपालिकाले सोमबारदेखि विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउन सुरु गरेको छ । खोपका लागि महानगरपालिकाको ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा दोश्रो डोज लगाउन सक्नेछन् । शनिवारबाहेक अरु सबै दिन बिहान १० बजेदेखि दिउँसोको ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप अभियान आउँदो फागुन ५ गतेसम्म चल्ने महानगरले जनाएको छ । महानगरले सबै वडा कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोप लगाउन निर्देशन समेत दिएको छ ।









































