दिल्ली, 14 फरवरी 2022
भारतको तीन राज्यमा अहिले विधानसभा निर्वाचन भइरहेको छ। उत्तर प्रदेशमा दोस्रो चरणको निर्वाचनका लागि मतदान भइरहेको छ भने गोवा र उत्तराखण्डमा आज एकैचरणमा मतदान सकिनेछ। दोस्रो चरणको निर्वाचन उत्तरप्रदेशको ९ जिल्लामा भइरहेको छ। ५५ सिटका लागि ५८६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उत्तर प्रदेशमा विधान सभा निर्वाचन सात चरणमा हुँदैछ। चारदिन अघि ५८ सिटका लागि पहिलो चरणको निर्वाचन भएको थियो। उत्तर प्रदेशमा भारतीय जनता पार्टीले मुख्यमन्त्री योगी आदित्यनाथलाई पुन: दोहोर्याउने तयारी गरेको छ। समाजवादी पार्टीले गठबन्धन बनाएर अखिलेश यादवको नेतृत्वमा निर्वाचन लडिरहेको छ। भारतीय कांग्रेसका अनुसार उत्तर प्रदेशमा मुख्यमन्त्रीको अनुहार सार्वजनिक गरेको छैन। कांग्रेस प्रियंका गान्धीको बलमा निर्वाचन जित्ने दाउमा छ। यता, उत्तराखण्डमा ७० सिटमा आज निर्वाचन भइरहेको छ। ७० सिटका लागि ६३२ जना प्रतिस्पर्धामा छन्। उत्तराखण्डमा एकैचरणमा सबै सिटमा मतदान भइरहेको हो। उत्तराखण्डमा भारतीय जनता पार्टी पुन: सत्तामा आउने प्रयासमा छ। यही महिना भारतको पंजाब र मनिपुरमा पनि विधानसभा निर्वाचन हुँदैछ। भारतको सबैभन्दा सानो राज्य गोवामा पनि विधानसभा निर्वाचन भइरहेको छ। ४० सिटका लागि ३०१ जना उम्मेदवार चुनावी मैदानमा छन्। गोवाको सत्ता हातमा लिन भाजपा, कांग्रेसका साथै आमआदमी पार्टी र तृणमूल कांग्रेस पनि चुनावी अभियानमा छ।









































