काठमाडौं, 19 फरवरी 2022
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सहमतिका आधारमा एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी सम्झौताका बारेमा सदनमा छलफल गर्न पाउनुपर्ने भन्दै सहमतिका आधारमा यसलाई संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको हो । यद्धपी बैठकले यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिनुभयो । सम्झौतामा धेरै बिषय बिरोधाभाष रहेकाले यसको संशोधन अनिवार्य रहेको उहाले बताउनुभयो । टेबल गर्ने कुरामा धेरै आपत्ति नरहेको भन्दै खतिवडाले यसका केही विषयहरू स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो । उहाले एमसीसीलाई जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने बताउनुभयो । उहाले एमसीसीका बारेमा सदनमा छलफल गर्न अवरोध हट्नुपर्ने पनि बताउनुभयो । गठबन्धन दलभित्र एमसीसीका बारेमा विवाद भएका कारण सदनमा टेबल हुन सकेको छैन।









































