दिल्ली, 5 अप्रैल 2022
पाँच वर्षीय विद्यार्थी कुट्ने दुई जना शिक्षकलाई भारतको एक अदालतले तीन/तीन वर्ष कैद सजाय सुनाएको छ।
पानी खान र पटक-पटक शौचालय जान अनुमति मागिरहेको भन्दै ती शिक्षकले पाँच वर्षीय विद्यार्थीमाथि कुटपिट गरेको संचार माध्यमले जनाएको छ। ती शिक्षक अहमदावादको मकरबास्थित अर्जुन प्राथमिक विद्यालयमा पढाउँथे।
मिर्जापुर अदालतका न्यायाधीश टिए भद्जाले दुई शिक्षकलाई दोषी ठहर्याई कैद सजाय सुनाएको हो। अदालतले गत हप्ता ३६ वर्षीया तरुना पर्बतिया र ४७ वर्षीया नज्मा शैखलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो। उनीहरूले धरौटीमा छाड्न माग गरेका थिए। तर अदालतले त्यसलाई खारेज गर्दै कैद सजाय सुनाएको हो। उनीहरूविरूद्ध सन् २०१७ जुन २२ मा मुद्दा दायर भएको थियो। आफूमाथि दुई शिक्षकले लगातार तीन दिनसम्म कुटपिट गरेपछि ५ वर्षीय बालकले आमालाई त्यसबारे जानकारी गराएका थिए। बालकको खुट्टामा पिट्ने र चिमोट्ने गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए। खुट्टामा निलडामहरू समेत देखिएको थियो। उपचारको लागि भिएस अस्पताल लगिएको थियो। छोरालाई विद्यालयमा लिन जाँदा बालकमाथि कुटपिट भएको उनले देखेका थिए।
तर शिक्षकहरूले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए। प्रहरीले ती शिक्षकविरूद्ध भारतीय दण्ड संहिताको धारा ३२३, जुभेनाइल जस्टिस एक्ट र बालकहरूको नि:शुल्क र अनिवार्य शैक्षिक अधिकारअन्तर्गत मुद्दा दायर गरेको थियो। त्यसमा अदालतले दण्ड संहिता अन्तर्गत ६ महिना कैद र ४०० रुपैयाँ जरिवाना र जुभेनाइल जस्टिस एक्ट अन्तर्गत ३ वर्ष १० हजार जरिवाना सुनाएको हो। त्यसबाहेक अदालतले त्यस विद्यालयमाथि छानबिन गरी २० दिनभित्र रिपोर्ट बुझाउन समेत निर्देशन दिएको छ।









































