काठमाडौं, 23 अप्रैल 2022
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगर पालिका बाहेकमा स्थानीय तहमा गठबन्धनबीच सन्तोषजनक तालमेल हुन नसकेको बताउनुभएको छ । नेकपा स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गबठन्धनको तालमेलमा जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताउनुभएको हो । उहाले देशैभर आफ्नो पार्टीको संजाल र संगठन रहेको भन्दै हरेक पालिकामा कुनै न कुनै पदमा सहभागीता गराउनुपर्ने दावी गर्नुभयो । महानगर र उपमहानगरपालिकामा गठबन्धनबीच भएको तालमेल भने निकै राम्रो भएको उहाको भनाई छ । उहाले यसअघि एमालेले जितेको स्थानमा पनि एकीकृत समाजवादीको दावी रहेपनि अन्य दलभित्र आकांक्षि बढेपछि समस्या बढेको बताउनुभयो । त्यस्तै अध्यक्ष नेपालले एमालेका धेरै नेताहरु समाजवादी प्रवेश गरेर केपी ओलीको कुर्सीको खुट्टा भाँचिएको तर्क गर्नुभयो । एमालेको भविष्य नरहेको भन्दै सबैलाई विद्रोह गरेर समाजवादीमा आउन उहाले आग्रह गर्नुभयो । कार्यक्रममा पिताम्बर तिमल्सिना लगाएतलाई अध्यक्ष नेपालले समाजवादी प्रवेश गराउनुभएको थियो ।









































