काठमाडौं, 4 जून 2022
त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई प्रदान गरेको छ । त्रिमूर्ति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली भाषासाहित्यमा समर्पित विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार प्रदान गरेको हो । त्यस्तै कार्यक्रममा बालकृष्ण सम पुरस्कार मिथिला शर्मालाइ र शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कार प्रदान गरियो । तीनै पुरस्कारको राशी रु १ लाख रुपैया रहेको छ । त्यसैगरी २५ हजार रुपैया राशिको ‘भद्र घले पदक’ तारानाथ दाहाल र प्रा डा उषा ठाकुरलाई प्रदान गरिएको थियो । त्यस्तै शताव्दी पुरुष सत्यमोहन जोशीको उचाई अभिबृद्धिका लागि समर्पित भएको भन्दै ५८ जनालाई सत्यमोहन जोशी शताब्दी पदक प्रदान गरिएको छ । कार्यक्रममा महासमालोचक प्रा डा वासुदेव त्रिपाठीले त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभएको थियो । सत्यमोहन जोशी शताब्दी पदक यसअघि २ सय २६ जनाले पाइसकेका छन् । नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा स्थापित त्रिमूर्ति निकेतन स्थापना गरिएको थियो ।









































