काठमाडौं, 13 जनवरी 2023
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताएका छन् । शुक्रबार ललितपुरको भैँसेपाटी सडकखण्डको अवलोकन गर्न पुगेका उनले यस्तो बताएका हुन् । उनले विकास निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यसअघि विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्दै अब पनि सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता नागरिकलाई भयरहीत सडकमा यात्रा गराउने रहेको र त्यसका लागि आफूले काम शुरु गरिसकेको बताए । उनले सडकका समस्या समाधानका लागि प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रवार सम्बन्धित निकायहरुका प्रमुखहरुसँग छलफल गर्ने र समस्याको पहिचान गरी समाधान गर्नका लागि पहल गर्ने अभियानमा आफू लागेको बताए । उनले सडकका समस्या समाधानका लागि अझै केही समय लाग्ने भए पनि जनतालाई सेवा दिने कुरामा कतैबाट हेलचेक्य्राइँ र कमजोरी भएको छ खण्डमा सरकारले छुट नदिने बताए। उनले सरकारले बनाएका नीतिनियमको प्रभावकारी कार्यान्वयन गर्न लाग्ने र सकारात्मक गुणात्मक हस्तक्षेप हुने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक सुधार गर्ने किसिमबाट काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको बताए । उनले निर्माण व्यवसायीसँग तोकिएको समयभित्र काम सक्नैपर्ने लिखित प्रतिवद्धता भएको पनि बताए ।









































