काठमाडौं, 13 फरवरी 2023
प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताएका हुन् । यसपटकको सरकारको नेतृत्वलाई आफूले चुनौतीपूर्ण अवसरको रूपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफूलाई असफल हुने छुट नरहेको बताए । उनले संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कैयौँ कोणबाट प्रश्न उठाउने कोसिसहरू भइरहेको भन्दै जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताए ।
‘केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कैयौँ कोणबाट प्रश्न उठाउने कोसिसहरू भइरहेका छन् । यस्तो वेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्न दृढताका साथ अघि बढ्नुको कुनै विकल्प छैन । मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो मन्त्रिपरिषदबाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन नेपाल राष्ट्रकै सम्पत्ति भयो । आमनेपाली जनताकै सम्पत्ति बन्न पुग्यो । यसलाई ठीक ढंगले निभाउने जिम्मेवारी हाम्रै हो,’ प्रचण्डले भने ।









































