काठमाडौं, 29 मार्च 2023
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त धारण राखेका हुन्।
‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ,’ उनले भने ‘हामी वाग्मती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेको थिएँ, पहिला भएका सम्पत्ति जोगाऊँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’
यस्तै शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिँदै यसपटकको सरकार केही समयलाई टिकाइदिन आग्रह गरेका छन्।
सम्मेलनमा बोल्दै मेयर शाहले स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरू धेरै हुँदा सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने बताएका हुन्।
त्यस्तै उनले कार्यक्रममा उपस्थित स्थानीय तहका न्यायिक समितिका अध्यक्षसमेत हुने उप-प्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिन पनि वातावरण बनाउन भनेका छन्। उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउनुपर्ने बताएका छन्।









































