काठमाडौं, 30 मार्च 2023
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताएका छन्। राम नवमीको अवसरमा बिहीबार काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिर दर्शनका पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताए । उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे ।अध्यक्ष लिङ्देन देश अझै अस्थिरताको बाटोतर्फ जाने सङ्केत देखिएको बताए । अध्यक्ष लिङ्देनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले सरकार सांस्कृतिक सम्पदाहरूको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिए ।
‘हामी सरकारमा हुनु वा नहुनु तपशिलको कुरा हो,’ उनले भने, ‘तर देशमा शान्ति, स्थायित्वको लागि सरकारस्थिर हुन जरुरी छ । तर अहिले जुन प्रकारको प्रवृत्ति विकसित भइरहेको छ, व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु झनै तिब्र रुपले बढीरहेका छन् । त्यसले तत्काल स्थिरताको कल्पना गर्न सकिँदैन ।’
अध्यक्ष लिङ्देनले आफू सरकारमा रहँदा वि.सं.२०८० सालबाट राम नवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताए ।









































