काठमाडौं, 5 अप्रैल 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताएका छन् । कृषिभन्दा बाहिरको उद्योग खोल्न खोजे दिगो नहुने उनको भनाइ छ ।नेकपा माओवादी केन्द्रको आयोजनामा भएको सहकारीकर्मीहरुको प्रथम भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । यस वर्षको नीति तथा कार्यक्रममा पनि कृषिलाई प्राथमिकता दिने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा कृषिमा आधारित उद्योगमात्र दिगो हुन्छ ।’
प्रचण्डले सरकारले आजभोलिमै पूर्णता पाउने सम्भावना रहेको समेत बताए।
‘अब अहिले सरकारले करिबकरिब पूर्णता पाएको छ। आजभोलि सतप्रतिशत पूर्णता प्राप्त गर्छ होला,’ उनले भने, ‘अनि हाम्रो सम्पूर्ण ध्यान अब सरकारको नीति कार्यक्रम र बजेट बनाउनेमा केन्द्रित हुनेछ। भइरहेको छ। सुरु भएको छ।’









































