काठमाडौं, 25 अक्टोबर 2023
रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ। युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले एउटा भिडिओ शेयर गर्दै यसको पुष्टि गरेका छन् । युवक बर्दियाका विवेक खत्री हुन् । गरास्चेन्कोले ट्वीटरमा शेयर गरेको भिडिओमा विवेकलाई केही प्रश्न सोधिएको छ । विवेकले आफू पैसा कमाउनका लागि रसियन सेनामा भर्ती भएको बताएका छन् ।
रसियन सेनामा भर्ना हुनुको कारणबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘मेरो परिवार आर्थिक समस्यामा थियो । मेरी आमासँग कुनै काम थिएन । हामीलाई पैसा चाहिएको थियो । त्यसैले यो निर्णय लिएँ ।’आफूलाई एकजना साथीले रसियन सेनामा भर्ती हुन सल्लाह दिएको उनले बताएका छन् । विवेकका अनुसार ती साथीले उनलाई रसियन सेनामा प्रशस्त पैसा कमाउन सकिने बताएका थिए ।‘म एउटा सफल व्यक्तिका रूपमा आफ्नी आमासामु फर्किन चाहन्थेँ । त्यसैले (रसियन सेनामा) जोडिएँ,’ उनले भनेका छन् ।
उनले आफू एक व्यक्तिले मोबाइलमा भाषा अनुवाद गरेर सेनामा आवद्ध भएको बताएका छन् । युद्धको बारेमा के धारणा छ भन्ने प्रश्नमा विवेकको जवाफ छ, ‘धेरै मानिसहरू मारिएका छन् । युद्ध समाधान होइन । सबै मानिसहरू समान छन् । मानिसहरू मार्नु राम्रो कुरा होइन ।’रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ। यस क्रममा रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेका छन्।









































