‘पुतली बाजे’ का नामले परिचित कोलन स्मिथको निधन
काठमान्डौ,4 नोभेम्बर 2023
वास्तविक नाम कोलिन स्मिथ भए पनि पुतली बाजेकै नामले परिचित उनको शनिबार बिहान उपचारकै क्रममा पोखरामा निधन भएको छ । अस्वस्थताका कारण ८८ वर्षीय पुतलीबाजे दुई महिनादेखि हरियोखर्क अस्पतालमा उपचाररत् थिए ।
पुतलीबाजेको सोमबारमात्रै अन्त्येष्टि गरिने उनी निकट सुनिल उलकले जानकारी दिए । ‘त्यतिञ्जेलसम्म उहाँको शव अस्पतालमै राखिने भएको छ,’ उनले भने । उनको अन्त्येष्टि सोमबार १० बजे नदीपुरमा गरिनेछ ।
नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदा दिएको स्मिथको ८८ वर्षको उमेरमा पोखराको हरियोखर्क अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनी करिब ५० वर्ष पहिला नेपाल आएका थिए । उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं डा. बाबुराम भट्टराईका गुरुसमेत हुन् । पूर्व प्रधानमन्त्री भट्टराईलाई स्मिथले गोरखाको अमर ज्योति हाइस्कूलमा पढाएका थिए । सेतो छाला, सेतै कपाल, सदाबहार सेतो पाइन्टसँग आकाशे निलो रङ सर्ट अनि शिरबाट कहिल्यै नहटेको ढाकाटोपी । यो थियो, बेलायती नागरिक कोलिन स्मिथको ‘नेपाली हुलिया ।’
२०२२ सालमा युनाइटेड मिसनमार्फत शिक्षणका लागि स्मिथ नेपाल आएका थिए । उनले सुरुमा पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालय (हालको गण्डकी बोर्डिङ स्कुल)बाट अध्यापन सुरु गरेका थिए । नेपाली आदर्श स्कुलमा पढाउँदा पढाउँदै उनलाई धर्म प्रचार गर्न पनि दबाब दिइएको थियो ।
तर उनले मानेनन् । ‘मैले यस्तो काम गर्न सक्दिनँ भनेपछि मलाई उतै (स्वदेश) फर्काइयो,’ स्मिथले भनेका थिए, ‘त्यसपछि फेरि नेपाल बोलाइयो । तर मलाई पोखरा होइन, पढाउन गोरखा पठाइयो ।’
गोरखाको अमरज्योति माविमा पढाउँदा उनका दुई मेधावी विद्यार्थी थिए, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपालकै प्रख्यात चिकित्सक उपेन्द्र देवकोटा । दुवैलाई उनले कक्षा ९ मा पढाएका थिए ।
स्मिथ जति पुतली मन पराउँथे, त्यति नै मन पराउँथे पुतली पनि । त्यसैले कालान्तरमा उनी वास्तविक नामले भन्दा बढी पुतली बाजेको नामले चिनिए, लामो संघर्षपछि मानार्थ नेपाली नागरिकता पाए ।
पोखरा सराङकोट नजिकै बस्दै आएका उनी प्रायः जिल्ला प्रशासन कार्यालयमा भेटिन्थे । ‘जीवन त नेपालमै बिताइयो, नागरिकता पाइयो भने नेपाली भएर मरिन्थ्यो,’ प्रष्ट नेपालीमै उनी भन्थे, ‘म क्रिश्चियन हुँ । तर मेरो लास सेतीमा जलाइदिनू है ।’
सन् १९९० देखि नेपाली नागरिकताका लागि प्रशासन धाउन थालेका उनले सन् २०१९ डिसेम्बर २ मा बल्ल मानार्थ नेपाली नागरिकता पाएका थिए ।
नेपालका ४० जिल्ला घुमेर उनले २५ हजारभन्दा बढी पुतली संकलन गरेका थिए । जसको प्रमाण पीएन क्याम्पस, प्राकृतिक विज्ञान संग्रहालय स्वयम्भू र काठमाडौं विश्वविद्यालयमा रहेको पुतली संग्रहालयमा अहिले पनि देख्न सकिन्छ ।
उनले संग्रहित गरेका पुतली पृथ्वीनारायण क्याम्पसमा रहेको अन्नपूर्ण म्युजियम अहिले नामले भन्दा पनि ‘पुतली संग्रहालय’को नामले बढी चिनिन्छ । पुतली बाजेले पुतलीबारे दर्जनौं अनुसन्धानात्मक किताब पनि लेखेका छन् । पुतली र झ्याउँकिरीसम्बन्धी उनका ३० भन्दा किताब प्रकाशित छन् । उनको पहिलो कृति ‘बटरफ्लाइज अफ नेपाल इन सेन्ट्रल हिमालय’ सन् १९८९ मा प्रकाशित भएको थियो ।









































