काठमाण्डौ , 18 डिसेम्बर 2020
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैंधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो । त्यसैगरी संसदको अधिवेशन बोलाउने बेला भइसक्दा पनि सरकारले अधिवेशन बोलाउन चासो नदेखाएको प्रमुख सचेतक खाँडको भनाई छ । बैठकले संसद अधिवेशन अबिलम्ब बोलाउन समेत माग गरेको बताउनुभयो । बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष समेत निकालेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार गम्भिर नभएको कांग्रेसको ठहर छ । कोरोना नियन्त्रणको नाममा अनियमितता गर्नेहरुलाई कारबाही गर्न पनि बैठकले माग गरेको छ ।
यसैगरी उखु किसानले भुक्तानी नपाएर गरिरहेको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन गर्ने निर्णय समेत बैठकले गरेको बताउनुभयो । उखु किसानको आन्दोलनलाई सरकारले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो । बैठकले केही समय अघि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. १ स्थित सरस्वती आधारभुत विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरण पछि हत्या भएको घटनालाई निन्दनिय र दुखद घटना भन्दै भत्र्सना गरेको छ । यस्ता हिंसात्मक घटनालाई रोक्दै दोषी उपर कारबाही गर्न बैठकले माग गरेको छ । नेता खाँडले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको भन्दै निरंकुश सोँचले ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने समेत बताउनुभयो ।









































