नयाँं दिल्ली, 1 सेप्टेम्बर 2020
भारतको संसदीय पुस्तकालयमा अब नेपाली पुस्तकको संग्रह पनि हुने भएको छ । दार्जीलिङ क्षेत्रका सांसद राजु बिष्टले नेपालीसहित पूर्वोत्तर भारतका साहित्यकारहरुले लेखेको पुस्तकहरु संसदीय पुस्तकालयमा राख्नुपर्ने सुझाव दिएपछि लोकसभाका अध्यक्ष ओम बिडलाले छिट्टै ती पुस्तकहरु पुस्तकालयमा राख्ने आदेश दिने आश्वासन दिनुभएको हो । सांसद राजु बिष्टले जारी गरेको विज्ञप्तिका अनुसार उहाँले पछिल्लो केही महिनामा पूर्वोत्तर क्षेत्र र त्यहाँका जनताको प्रतिनिधित्व गर्ने किताबहरूको सूची बनाउने उद्देश्यले क्षेत्रका दिग्गज विद्वान एवं रचनाकारहरूसँग सम्पर्क गरेर 260 नेपाली पुस्तकसहित करिब 400 किताबहरूको एउटा सूची बनाउनु भएको छ ।
आज उहाँले लोकसभा अध्यक्ष ओम बिड़लाज्यूलाई भेटेर सूची दिनुका साथै दार्जीलिङ्ग पहाड़, तराई, र डुवर्स, सिक्किम तथा बाँकी उत्तरपूर्व क्षेत्रका साहित्यिक कृतिहरूलाई संसदीय पुस्तकालयमा राख्न र सङ्ग्रहित गर्न अनुरोध गर्नु भएको थियो ।
सांसद बिष्टले लोकसभा अध्यक्षलाई, नेपाली भाषा भारतभरि छरिएर बसेका डेढ करोड भन्दा बढ़ी भारतीय गोर्खा नागरिकहरूको भाषा, अनि भारतको संविधानको आठौँ अनुसूचीमा शामेल भारतका २२ भाषाहरूमध्ये एक हुँदाहुँदै पनि, नेपाली साहित्य एवं संस्कृतिसम्बन्धी किताबहरूको संसदीय पुस्तकालयमा यथोचित प्रतिनिधित्व नभएको अवस्थाबारे जानकारी समेत दिनु भएको थियो।
जवाफमा लोकसभा अध्यक्षले दार्जीलिङ्ग पहाड़, तराई र डुवर्स क्षेत्रका किताबहरूलाई अबेर नगरिकन संसदीय पुस्तकालयमा सामेल गर्न तुरुन्तै निर्देश जारी गर्ने आश्वासन दिनुभएको सांसद बिष्टले बताउनु भयो।









































