कैलाली, 30 जुलाई, हिम शाह
मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा हजारौं घर डुबानमा परेका छन् भने 3 जना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक/फरक ठाउँमा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । कैलालीको भजनी नगरपालिका–8 खौरपुरका 40 वर्षीय ईश्वर शाह, 33 वर्षीय चक्र विक र जनकपुरका 11 वर्षीय स्केल चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका हुन ।


दुई दिनदेखिको लगातार वर्षाले 6 हजार बढि घरहरु डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्। डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भजनीमा दुई हजार एक सय 80 परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय 15 परिवार डुबानमा परेका छन्। त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा 8 सय 25 परिवार डुबानमा परेका छन्। टीकापुरमा बाढीले 30 घर भत्किएका छन्। डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनु भएको छ। विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ।









































